विवाहको उमङ्ग नसकिदै मनोज गजुरेलमाथि ठूलो बज्रपात

  • अनलाइनमार्ग डेस्क

    मंगलबार, कार्तिक २ २०७८
  • विवाहको उमङ्ग नसकिदै मनोज गजुरेलमाथि ठूलो बज्रपात

    काठमाडौं। चर्चित हाँस्यकलाकार मनोज गजुरेलमाथि ठूलो बज्रपात भएको छ । विवाहको उमंग नसकिदैं उनीमाथि बज्रपात भएको हो । उनले भाई गुमाएका छन् ।

    मामा घरका भाईको निधन भएको उनले लेखेको स्टासवाट बुझ्न सकिन्छ । आइतवार लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको लेखाई निकै भावविह्वल छ।

    यस्तो छ गजुरेलको फेसबुक स्टाटसःः प्यारो भाइ विवेक तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो
    तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ- ‘५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन ।’

    नभन्दै सानैदेखि संघर्ष गर्याै । माईजुको बाँच्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ । आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलाे, प्यारो र मनपर्ने मावली भाइ थियौ । …तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पीडा छोडेर गयौ भाइ
    माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ! दिदीहरुलाई के बितिरहेको होला ! मामा सानिमाहरु दु:खको कत्रो पोखरीमा डुबेका होलान् ! हामी अत्यन्तै मर्माहत भएका छौँ कान्छा !

    हाम्रा बुबा बितेपछि आमाले हामीलाई मावली गाउँमा गुँड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं । बुबा नभएपनि बाल्यकालमा मामाहरुबाट एकप्रकारको अभिभावकत्व पायौं । त्यसमापनि माईलामामाको सरल र सहयोगीपनले आमालाई ७ वटा बचेरा च्यापेर माईतीमा बस्न सहज बनायो । तिमी त्यो व्यक्तीको वीज हाै जाेसँग हाम्रो ‘मामाभान्जा’भन्दा गहिरो प्रेम, अग्लो नाता र बलियो सम्बन्ध थियो

    मामा बितेपनि आमाले तिमीलाई ‘माईलो भाइ’ मान्नुहुन्थ्यो । माईजुले आमालाई अभिभावक ठान्नुहुन्थ्यो । हामी तिमीमा हाम्रा ती माईलामामाको स्वभाव देख्थ्यौँ जाे सोझो, परिश्रमी र प्रेमल हुनुहुन्थ्यो ।

    ‘रमिते’को लेकमा गोठ बस्दा होस् वा ‘मल्लिंडे’को बेँशीमा खेत जोत्दा होस्, ‘झिलझिले’मा अधियाँ कमाउदा होस् वा ‘दमक’मा बनिबुतो गर्दा होस्- हाम्रा माईलामामाले हाम्री आमालाई यति सहयोग गर्नुभयो कि सायद आमाले कहिल्यै एक्लो महसुस गर्नु भएन । अनि हामीले पनि !
    हाम्री आमा अर्थात् ‘ठुल्दिदी’ र तिम्रा बुबा अर्थात् ‘माईलो भाइको प्रेमपुर्ण सम्बन्ध कमै दिदीभाइको हुन्छ होला ! त्यस्तो प्यारो भाइको एकमात्र छोरो, तिमी यस संसारमा छैनौ भन्दा तिम्री ‘ठुली फूपू’ अत्यन्तै मर्माहत हुनुहुन्छ ! हाम्रा सबैभन्दा प्यारा ‘माईलामामा’को पुत्राधिकारी सकियो भन्ने सुन्दा हामी भाव विह्वल भएका छौँ बाबू

    मृत्यु शाश्वत सत्य हो तर यति चाँडाे हुनुहुन्थेन, विस्मात यसैमा छ ! ६ सन्तानको भारी बोकेर दु:खका विकट पहाडबाट छिचोल्दै माइजू बल्ल सुखको श्वास फेर्न खोज्दै हुनुहुन्थ्यो तर तिम्रो देहान्तले उहाँको यात्रामा फेरि डरलाग्दो भीरको उकालो बाटो आईपुगेको छ । माइजू, ५ दिदिहरु, तिम्रा मावली र हामीलाई तिम्रो अभावले सताई रहनेछ । हार्दिक श्रद्धाञ्जली विवेक

    सायद अहिले तिम्रो आत्मा ‘माईलामामा’ले गोठ पालेर आधा जिन्दगी बिताएको गुराँसे र रमितेको पातलतिर विचरण गर्दै होला ! झिलझिले, काठमाण्डौ, सप्तरीतिर फन्को मार्दै होला ! पुत्रवियोगमा छटपटिएकी आमाको वरीपरी घुम्दै होला । भातृवियोग रोईरहेका दिदी भिनाजुको छेउछाउ तरङ्गित हुँदै हाेला !
    माईजु, दिदी भिनाजु र हाम्रो याद छोडेर आफ्नो मुलमा जाउ विवेक ! अब दिदी भिनाजुले आमाको सेवा गर्नेछन् । हामी लगायतका आफन्तले सहयोग गर्नेछौँ । तिमीले अब यो भौतिक जगतको चिन्ता गर्नु पर्दैन ।

    तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत्

    ‘विवेक’ मृत्युको कारण: ज्यानमारा सडकको कामचोर विभाग ! २२ बर्षीय भाइ विवेक सापकोटा काठमाडौबाट मोटर साईकलमा एक्लै पुर्व जाँदै थिए । २१ बर्षकै दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए । महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा दयारामको बाईक अनियन्त्रित भएर आफ्नो लेनमा कुदिरहेको विवेकको बाईकसँग जुध्न पुगे । विवेक र दयारामको मृत्यु भयो, चन्दन कुमार घाईते भए ।

    दुर्घटनामा बितेका २१ बर्षिय दयारामपनि कसैको मुटुको टुक्रा थिए । उनका परिवारमा पनि ठुलो बज्रपात परेको छ । उनिप्रति पनि हार्दिक श्रद्धाञ्जली दयारामले मार्छु भनेर विवेकलाई हानेको पनि हैन होला, विवेकले मर्छु भनेर दयारामको बाईकमा ठोकिएका पनि नहोला ! सत्यतथ्य के हो, प्रहरीले पत्ता लगाउला तर अमाहा सडक दुर्घटनाको एउटा गम्भीर पाटोको बारेमा बोल्नैपर्ने भएको छ ।

    जुन ठाउँमा दुर्घटना भयो, त्यहाँ लामो समयदेखि एउटा ठूलो खाल्डो छ । कल्भर्ट छेउको त्यो खाल्डो पुर्न स्थानीयवासीले धेरै पटक अनुरोध गरे । अनुरोधको सुनुवाई नहुँदा प्रदर्शनहरु भए, जुलुस निस्किए । हिजो त झडप नै हुनपुग्यो । केही स्थानीय र प्रहरीहरु घाईते भए । उनिहरुको उपचार चलिरहेको छ । सिघ्र स्वास्थलाभको कामना ।

    हाम्रो भाइ विवेक अनि सम्भवत: दयाराम राजवंशी दुवैजना श्रमजिवी परिवारका सदस्य थिए ! उनिहरु त बितेर गए तर सडक मर्मत सम्भारमा गैरजिम्मेवार देखिएको सरकारका कारण निम्तिएका यस्ता दुर्घटनाले खोसेका विवेक र दयाराममा आश्रीत परिवारलाई न्याय र क्षतीपुर्ती कसले दिन्छ ? केन्द्र सरकार ? प्रदेश सरकार ? स्थानीय सरकार ? कि निर्माण र मर्मतको जिम्मा लिएको ठेकेदार कम्पनी ?

    सप्तरीको यो सडक दुर्घटना एउटा प्रतिनिधि घटनामात्र हो । देशैभरीका सडकमा यस्ता समस्या छन् । बर्सेनि हजारौंको संख्यामा नागरिकको ज्यान जाने गरेको छ । समाधानको अनुरोध गर्दा केन्द्र सरकार प्रदेश सरकारलाई देखाउँछ । प्रदेश सरकार स्थानीय सरकारतिर पन्छाउछ । स्थानीय सरकार सडक विभागलाई दोष दिन्छ । सडक विभाग ठेकेदारलाई दोष दिन्छ । ठेकेदार बजेट निकासा भएको छैन भनेर पन्छिन्छ ।

    उनिहरुको यो गोलचक्करमा सडक दुर्घटनामा सरकारकालागि त केहीथान मान्छे मरे होलान् तर विवेक र दयारामका परिवारका लागि भने सर्वस्व हुन् । उनिहरुको सर्वस्व लुटिएको छ । यो व्रम्हलुटको मुख्य कारण हाम्रो गैरजिम्मेवार सरकारले नै यिनिहरुलाई क्षतिपूर्ति दिनसक्छ ।

    यस्ता दुर्घटना नदोहोर्याउन प्रतिवद्धता जाहेर गर्नसक्छ ? प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन र मुख्य दोषिलाई दण्डित गर्न सक्छ ? दबाब कायम राखौं ।

    अन्त्यमा, पुन: सडक दुर्घटनामा ज्यान गुमाएका दुबै भाइहरुको आत्मा शान्तीको कामना गर्दछु । उनिहरुको आश्रीत परिवारलाई उचित क्षतिपूर्ति दिन सरकार, स्थानीय निकाय, सडक विभाग र सम्बन्धित ठेकेदारलाई जोडदार माग गर्दछु ।

    अनि, सडक निर्माणलाई गम्भीर रुपमा नलिने, मर्मत संभारमा ध्यान नदिने, कमसल निर्माण सामाग्री प्रयोग गर्ने र बारम्बार नागरिकको जिउ ज्यानलाई लिईरहने सम्बन्धित निकाय र व्यक्तीलाई कारवाही किन नगर्ने ?!

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2021 and all right reserved to onlinemarg.com | Site By : SobizTrend