मोदीको दादागिरीविरुद्ध प्रचण्ड माओवादीको प्रतिक्रियाः ढिलो आयो तर कडा आयो !

  • अनलाइनमार्ग डेस्क

    शुक्रबार, पुष ३० २०७८
  • मोदीको दादागिरीविरुद्ध प्रचण्ड माओवादीको प्रतिक्रियाः ढिलो आयो तर कडा आयो !

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालविरोधी अभिव्यक्तीपछि ढिलै भएपनि नेकपा (माओवादी केन्द्र) को कडा प्रतिक्रिया सार्वजनिक भएको छ । माओवादीले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको हो ।

    माओवादी केन्द्रका अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले शुक्रबार विज्ञप्ति जारी गर्दै लिपुलेकमा भारतले शक्तिको बलमा गरेको हस्तक्षेपको घोर भर्त्सना गर्दै नेपालको सार्वभौम अधिकार र भौगोलिक अखण्डतामाथिको हस्तक्षेप बन्द गर्न चेतावनी दिएका हुन् ।

    माओवादी केन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेकोमा आपत्ति जनाउँदै भर्त्सना समेत गरेको छ ।

    ‘हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं । शक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भर्त्सना गर्दछौं’, प्रमुख श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख लागेको जनाएको छ ।

    ‘नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणविरुद्ध कडा विरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रतिशीघ्र कुटनैतिक पहल गरोस्’, माओवादी केन्द्रले भनेको छ ।

    यस्तै विवेकशील साझा पार्टीले पनि लिपुलेकबारे भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र यसबारे नेपालको सरकारको मौनताप्रति आपत्ति जनाएको छ ।

    ‘नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विवेकशीलका प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ ।’

    [ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई [email protected] मा इमेल गर्नुहोस अथवा ९८६३०३३१७२ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


    अनलाइनमार्ग डेस्क


    सम्बन्धित समाचार
    © copyright 2022 and all right reserved to onlinemarg.com | Site By : SobizTrend