कोरोना भाइरस: चीनबाट फर्किएकाले क्वारेन्टाइनमा नबसे यस्तो कडा कारवाही हुने

चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् ।

कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ । चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’ उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।

हाल स्वास्थ्यसम्बन्धी १५ ऐन र ११ नियमावली छन् । तर, चीनको हुबेईबाट उद्धार गरेर ल्याइएकालाई क्वारेन्टाइनमा राख्दा सरकारको निर्देशन उल्लंघन भए ५६ वर्ष पुरानो ऐनअनुसार कारबाही हुने भएको गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ । संक्रामक रोग रोकथामका सम्बन्धमा नयाँ ऐन नभएकाले राजा महेन्द्रको पालामा बनेको ‘संक्रामक रोग ऐन, २०२०’ आकर्षित हुने भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा। विवेक लालका अनुसार क्वारेन्टाइनमा तोकिएको नियमको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्‍याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

क्वारेन्टाइनमा सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारीविरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लंघन गर्ने जो–कसैलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ ।

राजा महेन्द्रले ०२० मा ‘ज्वरो’ नियन्त्रण गर्न राष्ट्रिय पञ्चायतको सल्लाहमा यो ऐन बनाएका थिए । देशभर वा देशको कुनै भागमा संक्रामक रोग फैलिए वा फैलिने सम्भावना देखिए रोकथाम र निर्मूल गर्न ऐन जारी भएको थियो । संक्रामक रोगसम्बन्धी नयाँ ऐन–नियम नबनेका कारण ०२० मा बनेको ऐन नै लागू गर्नुपरेको डा। लालले बताए ।

सम्बन्धित समाचार