‘विद्यार्थी राजनीति र स्ववियु निर्वाचनको औचित्य’

मदनराज उपाध्याय/सरकारले यही फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने बताएसंगै त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका प्रकाशन गरी कार्यक्रमको शुरुवात गरिसकेको छ । विभिन्न अन्तरविरोधहरुले ग्रस्त विद्यार्थी राजनीतिमा यस निर्वाचनले अर्को तंरग ल्याउँदैछ । हरेक २ वर्षको अन्तरालमा हुनुपर्ने स्ववियु निर्बाचन बि.सं. २०६५ देखि एकै पटक आठ वर्ष पछि २०७३ मा मात्र भएको थियो । उक्त समयमा देशका विभन्न क्याम्पसहरु मा स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भएपनि विद्यार्थी राजनीतिको नेतृत्व गर्ने मुलधारका क्याम्पसहरुमा विगत एक दशक देखि निर्वाचन हुन सकेको छैन, जसका कारण समग्र विद्यार्थी राजनीतिमा आमुल परिवर्तन गर्ने र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बौद्धिक, बैचारिक र भविष्यमा राष्ट्रिय राजनीतिको मुलधार समाल्न सक्ने कुशल नेतृत्वको अभाव भएको होकि भन्ने चर्चा हुन थालेको छ ।

अहिले स्ववियु निर्वाचनको सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरुकै सान्दर्भिकता र औचित्यमाथि प्रश्न उठेका जुन स्वभाविक पनि हो । धेरै जसो क्याम्पसहरुमा निर्वाचनताका यति अराजकता बढ्छ कि स्वंयम विद्यार्थीहरु नै असुरक्षित हुने गरी गुण्डागर्दी, हातहतियार प्रदर्शन, काटमार हुने गर्छ ।

विगतका स्ववियु निर्वाचनका पुर्व सन्ध्यामा विभिन्न क्याम्पसहरुमा दल निकट विद्यार्थी संगठनहरुले स्वार्थ केन्द्रित गैरशैक्षिक मागहरु तेस्र्याउँदै गरेको आगजनी र अराजक क्रियाकलापले स्ववियुको निरन्तरता माथी नै प्रश्न चिन्ह खडा गरेको छ । यसलाई सकारात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्न सकिए विद्यार्थी आन्दोलन र समाजलाई ठुलो लाभ हुनेछ ।

विद्यार्थी समाजको चेतनशील, र्सिजनशील र परिवर्तनका संवाहक हो । विद्यार्थी स्वतन्त्रता र उदारताको प्रतिक पनि हो । विद्यार्थी भनेको अधिकारको वाहक पनि हो । देशका राजनीतिक परिवर्तनहरुमा विद्यार्थीहरुको सवल संलग्नता थियो र रहन्छ । देशमा राणा शासन ढाल्न होस् अथवा प्रजातन्त्रको पुनसर््थापना गर्न होस । पञ्चायत फाल्न होस वा गणतन्त्र ल्याउन होस बिद्यार्थी आन्दोलनले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
विद्यार्थी राजनीति भनेको राजनीतिक नेतृत्व विकासको सिप सिक्ने पहिलो खुड्किलो हो ।

यसबाट विद्यार्थीले कसरी राजनीतिमा आउने र बैचारिक नेतृत्व सिक्ने मौका पाउँछन । थुपै्र देशमा सवल र सक्षम विद्यार्थी राजनीतिमा हुन्छन । शिक्षाको परिवर्तन मार्फत देशको अग्रगमनलाइ जोड दिन्छन् । अमेरिकामा सन् २००९ पछिका शोधले अहिलेका अधिंकाश चिन्तक, दार्शनिकहरु पहिले विद्यार्थी राजनीतिमा भएको देखिन्छ । इटलीका कतिपय विश्वविद्यालयहरु पढाइमा अव्वल र सर्वोत्कृष्ट विद्यार्थीलाई मात्र राजनीति गर्ने छुट दिन्छन् । उनीहरु अध्ययन तथा अनुसन्धानमा निकै समय खर्चन्छन् ।

जापान, कोरिया र हङकङ जस्ता देशहरुमा विद्यार्थी संगठनले देशको आवश्यकता अनुसार दक्ष, प्राविधिक, वैज्ञानिक प्रकारको शिक्षा प्रणाली निर्माण गर्न सघाउन सहयोग गर्दछ । तर नेपालका विद्यार्थी संगठनहरु अराजक रुपमा तोडफोड, नारा जुलुस तथा राजनीतिक नेता जन्माउने मेसिन भएको देखाउँछन् । विगत केहि समय यता देखि विभिन्न संगठन भित्रको गुट संघर्ष समेत स्ववियु निवार्चनमा खुल्लारुपमा देखिने गरेको छ । यसरि बिग्रिएको विद्यार्थी राजनीतिलाई सम्मानयोग्य बनाउन फरक र असल बाटो हिड्नु जरुरी देखिन्छ ।

स्ववियु निर्वाचनको औचित्यता प्रष्ट्याउदँै गर्दा यसको आवश्यकताको बहस हुन जरुरी छ । क्याम्पसहरुको समग्र शैक्षिक वातावरणलाई सुधार गरि गुणस्तरीय शिक्षा प्रवाहको माहोल निर्माण गर्न स्ववियु अति आवश्यक मानिन्छ ।

शिक्षा र विद्यार्थी राजनीति दुबैलाइ समेटेर हुने गतिविधिले धेरैको ध्यान तान्छ, स्ववियु चुनाव यस्तै एउटा मोड हो । विद्यार्थीको सरकार भनेर विश्वव्यापी मान्यता स्थापित गरेको यस्ता चुनाव शिक्षाका विविध बेथितीहरुलाई सम्वोधन गर्दै विद्यार्थीको हकहित प्रत्याभुत गर्नलाई एक आवश्यकता समेत हो ।

आवश्यकताको आत्मसात हाम्रो शिक्षा प्रणालीमा असंख्य समस्याहरु छन् । दिक्षितहरु शिक्षाले दिनुपर्ने दक्षता र विशिष्टता प्राप्त नगरेको महशुस गर्छन । विश्वविद्यालयहरु निराश मनस्थीति भएका बेरोजगार जन्माउने यन्त्र बन्दैछन् । प्राध्यापकहरु शिक्षामा कम र राजनीतिमा बढि सक्रिय छन । यस्ता अनेकौं समस्याको निराकरणमा विद्यार्थीको सरकार भनिने स्ववियुको रचनात्मक भुमिका चाहिन्छ ।

स्ववियु निर्वाचनबाट रचनात्मक भुमिका खेल्न सक्ने विद्यार्थी नेतृत्व चयन हुन सकेमा एकातिर समग्र शैक्षिक वातावरण सुधार हुन्छ भने भविष्यमा क्षमतावान प्राज्ञिक ब्यक्तित्व यहि स्ववियु र विद्यार्थी राजनीतिले जन्माउने गर्दछ । विश्वको विद्यार्थी राजनीतिको इतिहासलाई केलाएर हेर्दा सम्मुनत राष्ट्र निर्माण सिद्धान्तका प्रतिपादकहरु सान्हा बन्धोपाध्याय, जान्जी जानम्याट शिक्षाको गुणस्तर र समसामयिकतालाई उच्च महत्व दिन्छन् ।

प्राचिन दर्शनमा पुर्वका कौटिल्य कन्फ्यूसियस मनुदेखि पश्चिमी जगतका प्लेटो, सुकरात लगायतले समेत शिक्षामा राज्यको विशेष निगरानी तथा प्रयासको आवश्यकता दर्शाउँथे । विकसित देशहरुले त शिक्षालाई राष्ट्रको मुख्य सक्षमताको रुपमा लिन्छन् । जापानले दोस्रो विश्वयुद्धपछि कुशल जनशक्ति निमार्णका लागि धेरै वर्षसम्म बजेटको लगभग आधा हिस्सा शिक्षामै लगानि गर्दथ्यो । हाम्रा परिपे्रक्षमा समेत बजेटको ठुलो हिस्सा शिक्षामा लगानी गरेको देखिएतापनि आवश्यकताअनुरुप विश्व जगतसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरिय बौद्धिक नेतृव्व र शैक्षिक जनशक्ति उत्पादन हुन सकिरहेको छैन । त्यसकारण देशमा पर्याप्त स्रोत र साधन हुदाहुँदै पनि सहि सदुपयोग र परिचालनको अभावमा छ ।

उच्च शिक्षामा लगानि भएको यहि आशाको प्रत्याभुति गर्न सकारात्मक समन्वयकारि काम गर्नु विद्यार्थी सरकार भनिने स्ववियुको महत्वपुर्ण भुमिका रहन्छ र यस अवस्थामा स्ववियु निवार्चनको अपरिहार्यता महशुस भएको छ ।

स्ववियु निर्वाचन तथा समग्र विद्यार्थी राजनीतिलाई समयानुकल परिमार्जन र सशक्तिकरण गर्नु अपरिहार्य छ । विद्यार्थीहरुको गुणस्तर प्रवद्र्धनको पहल गर्नुपर्छ । उनीहरुको सिकाइ क्रियाकलापले समाजलाई दिएको योगदानको मुल्यांकन गर्नुपर्छ । अनुसन्धानमा लगानि गर्नुपर्छ । नयाँ र परिमार्जित पाठ्यक्रम निर्माण गर्नुपर्छ । शिक्षामा आवधिक योजना बनाउदैँ परिवर्तनको मार्गचित्रको अभ्यास गर्नुपर्दछ । राजनीति गर्नलाई गरिने शिक्षालयको प्रयोग बन्द गर्नुपर्दछ । लडाई झगडा भित्र रुमल्लिएको विद्यार्थी राजनीतिलाई विस्थापित गर्नुपर्दछ र स्ववियुको भुमिकाबारे बहस गरिनुपर्दछ ।

अन्तमा स्ववियु उम्मेदवार हुनकै लागि वर्षौसम्म क्याम्पस ढुक्ने परिपाटि मौलाउँदै गएको छ । यस्तो प्रवृतिले गर्दा वास्तविक विद्यार्थी र नौलो पुस्ताले राजनीतिलाई बुझ्ने अवसर र वातावरण पाउन सकेका छैनन् । त्यसकारण उल्टो बाटोमा हिडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटोमा हिडाउँन र समाजलाई आमुल परिवर्तन गर्न नितान्त आवश्यक छ ।

अधिकार प्राप्तीका लागि संघर्षरत हजारौं विद्यार्थीहरुको एकमात्र चाहना भनेको समयमै स्ववियु निर्वाचन सम्पन्न होस् भन्ने हो । यस कदमबाट सरकार र विश्वविद्यालय कुनै पनि हालतमा पछि हट्नु हुदैँन । विद्यार्थीहरुले आफ्नो अभिभावक संस्था प्राप्तीको यस अवसरलाई कुनैपनि हालतमा गुमाउनु हुदैँन ।

बिद्यार्थी राष्ट्रिय राजनीतिका आधारस्तम्भ हुन्, स्ववियु गुणस्तरिय शिक्षा प्रवाहको मुख्य आधार र अगं हो तसर्थ यस अवस्थामा सरकार र विश्वविद्यालयले समयमै रेक्टर नियुक्त गरि स्ववियु निर्वाचनका लागि उचित वातावरणको सिर्जना गरोस ।।

*मदनराज उपाध्याय नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता तथा आसन्न स्ववियू चुनावमा सभापतीका प्रत्यासी समेत हुन् ।

सम्बन्धित समाचार