‘पैसाबिना मान्छे मान्छे नै हुँदैन’

डा. टीकाराम गौतम, प्रमुख, समाजशास्त्र केन्द्रीय विभाग, त्रिवि

२० वर्षदेखि प्राध्यापन गर्दै आएका डा।टीकाराम गौतम बाग्लुङमा जन्मिएका हुन् । ६ महिनादेखि त्रिविको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । मानविकी संकायअन्तर्गतका विद्यार्थीको पहिलो रोजाइमा पर्ने विषय हो समाजशास्त्र । यो दुई दशको अवधिमा झण्डै लाखौं विद्यार्थी उनले दीक्षित गरिसकेका छन् ।

० नेपाली समाज कता गइरहेको देख्नुहुन्छ ?

– नेपाली समाजको परिवर्तनको गति अहिले बढी छ । शिक्षा, सञ्चार, यातायात, विज्ञान प्रविधिलगायतसँगको अन्तरसम्बन्ध र घुलमिल हुने कुरामा परिवर्तन आइरहेको छ ।

० पछिल्लो समय धर्मको आडमा नेपाली समाजमा अनेक धन्दा चल्दै छ । यसलाई कसरी हेर्ने ?

– यसलाई धन्दाभन्दा पनि गतिविधि भनौं । कतिपय गतिविधि अनपेक्षित छन् । जब समाज संक्रमणकालीन अवस्थामा हुन्छ । नियम–कानुन फेरिने समय हुन्छ । त्यस्तो बेला यस्ता गतिविधि बढ्छन् ।

० किन ?

– कानुन, धर्म, नीति नियम वा समाजको अनुशासनले यस्ता गतिविधिलाई नियमन वा नियन्त्रण गर्न अलि सक्दैन । नेपाली समाज पनि अहिले ठूलो राजनीतिक संक्रमण पार गरेर अगाडि बढ्दै छ । संक्रमणकालीन अवस्था धर्म, प्रविधिमा पनि छ । ती नौला घटना होइनन् । मात्रा बढेको मात्र हो । हाम्रो नेपाली समाजमा विश्वका अनेक कुरा आइरहेका छन् । धर्म परिवर्तन अहिले मात्र भएको होइन, यसमा कतिपय अन्तरनिहित स्वार्थ वा स्वाभाविक प्रक्रिया हुन्छ । तर, एउटा पक्ष जोगाउन र अर्को पक्ष नाश गर्न लागेको अवस्थामा द्वन्द्व सिर्जना हुन्छ । अपराध, चोरी, डकैती, कानुनको जग्जगी चलेको संक्रमणकालीन अवस्थामा यस्तो हुने गरेको छ ।

० उमेर पुगेका महिला मात्र होइन ५ वर्षीया बालिका, ६० नाघेका वृद्धा पनि बलात्कृत हुँदै छन् । कुनै समय महिलालाई पुज्ने नेपाली समाज आज यो भयावह स्थितिमा कसरी पुग्यो ?

– जतिखेर आकांक्षा तीव्रतर रूपमा बढ्छन् त्यतिबेला सामाजिक व्यवस्था कमजोर छ भने मान्छेको विचलित व्यवहार बढ्छ । हामी पुरानो उत्पादन प्रणालीबाट नयाँ पँुजीवादी प्रणालीमा प्रवेश गरिररहेका छौं । पँुजीवादी समाजले विभिन्न अपेक्षा र चाहना निर्माण गरेको छ तर चाहना पूरा गर्ने स्रोत–साधनमा मान्छेको पहुँच छैन । राज्यको कानुन र सुरक्षा स्थिति कमजोर तर मान्छेका मनोकांक्षा बढिरहेको अवस्थामा विचलित व्यवहार बढ्ने सम्भावना हुन्छ ।

० यस्ता विचलित व्यवहार कसरी कम गर्न सकिएला ?

– व्यक्ति फुर्सदमा हुँदा अनावश्यक कुरा सोच्ने हो । त्यस्तो परिस्थिति बन्न दिनु हुँदैन । अहिले व्यक्ति मिडियादेखि सामाजिक सञ्जालमा जोडिएका छन् तर हाम्रो नैतिक धरातलको प्रशिक्षण घरपरिवारदेखि विद्यालयसम्म भएको छैन । यस्तो स्थिति नियन्त्रणका संयन्त्र कमजोर भएपछि झन् बढ्छन् । नियम कानुनमा समाजलाई हिँडाउने, सुरक्षित वातावरण तयार गर्ने, व्यक्तिलाई अभिमुखीकरण गर्ने तीन पाटोमा सुधार भएको खण्डमा यस्ता घटना न्यूनीकरण हुन्छन् । जो एकल हुन्छ र केही काम गरिरहेको हुन्न । त्यस्ता व्यक्तिमा यो समस्या बढी देखिन्छ ।

० पछिल्लो समय राजनीतिक पार्टी नेता, शिक्षक, कलमकर्मीजस्ता बौद्धिक जमात पनि साँस्कृतिक विचलनमा मुछिइरहेका छन् । यसमा कुन फ्याक्टरले काम गरिरहेको हुन्छ ?

– राज्यको अरु निकाय कमजोर हुने तर दल बलियो हुने स्थिति भयो नेपालमा । दलसँग जोडिएका व्यक्तिले आफूलाई विशिष्ट र शक्तिशाली ठान्ने, जे गरे पनि मुक्ति पाइन्छ भन्ने । राज्य संयन्त्रले पनि त्यस्ता पात्रलाई कारबाही नगर्ने स्थिति छ । कानुन बलियो नभएसम्म यी घटना नियन्त्रण गर्न अप्ठ्यारो हुन्छ ।

० ठगीका घटना पनि बढ्दै छन् । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

– हामी पँुजीवादी समाजमा छौं । यो समाजमा पैसाबिना मान्छेको जीवनै हुँदैन । मान्छे मान्छे नै हुँदैन । गाँस, बास, कपास पैसासँग जोडिएको हुन्छ । हरेक मान्छेलाई पैसा कमाउनु छ तर सहजै रोजगारीको अवसर पाइँदैन । काम गरेर पनि आकांक्षा पूरा हुँदैन । त्यही कारण अनैतिक काम गर्न थाल्छन् । त्यसलाई नियन्त्रण गर्ने नियम, कानुन कमजोर छ । त्यही कारण चोरी र ठगीका घटना बढ्छन् । दल र राज्यसंयन्त्र नसुध्रिएसम्म यो स्थिति यस्तै तरिकाले चलिरहन्छ ।

० समाज तथ्य र तर्कका आधारमा भन्दा भीडमा बहकिन थाल्यो भनिन्छ । के भन्नुहुन्छ ?

– तार्किक आधारमा अगाडि बढिएन भने मान्छे संवेगात्मक हुन्छ । एक दलको नेता वा कलाकारले ह्विप जारी गर्दा सबै भीड त्यतै लाग्छ । संवेगमा बहने परिपाटीले भीड वा मासलाई आकर्षित गर्छ । सबै क्षेत्रमा या त दलले हुन्छ वा बलले हुन्छ भन्ने मान्यता हावी भएको छ । दल र बलले नै काम लिन सकिने भएपछि तर्क र बुद्धिको के काम रु

० सामाजिक सञ्जालबाटै व्यक्तिलाई रातारात हिरो बनाइने परिपाटी कत्तिको घातक देख्नुहुन्छ रु यसले नेपाली समाजलाई कता लैजाला ?

– सधैँ भीड र संवेगमा बहकिने समाज टिक्दैन । नागरिकको तार्किक समूह तयार नहुँदासम्म संवेगात्मक भीड अघि बढ्छ । छिट्टै यस्ता कुरालाई नियन्त्रण गरिएन भने कचिंगल सिर्जना हुन्छ ।

० दलाल पुँजीपति हाबी हुँदा समाजवादको जित सम्भव छैन भन्ने सत्तारुढ दलकै नेताहरूको ठम्याइ छ । यहाँ के भन्नुहुन्छ ?

– पँुजीवादको धेरै चरण हुन्छ । हामीकहाँ भएको पँुजीवादचाहिँ उपभोक्तावादी वा दलाल पँुजीवाद हो । अहिले आफ्नो उत्पादन कमजोर छ । लगानी गर्न राष्ट्रि««य पँुजी अभाव छ । सबै बाहिरका वस्तु ल्याएर उपयोग गर्ने परिपाटी छ । लगानी र काम गर्ने वातावरण नभएपछि मान्छेले गर्ने दलाली हो । दलाली पनि ठग व्यवहार हो । ठेक्कापट्टाबाट कसरी हुन्छ बढीभन्दा कमिसन आर्जन गरिने भएको हुँदा यो पनि एउटा ठगी नै हो ।

० नेपालमा अहिले चलिरहेको पोलिटिकल कोर्स कति प्रतिशतले समाजवाद उन्मुख छ ?

– उन्मुख छ भन्ने केही आधार छैन । पँुजीवादको उच्चतम विकास गरेर समाजवादतिर अघि बढ्ने हो भने राष्ट्रिय उत्पादनलाई बढाउनुपर्छ । लगानीको क्षेत्र फराकिलो बनाएर यहीँभित्रका सबै नागरिकले त्यो स्रोत–साधनमा उत्तिकै पहुँच र लाभ लिने वातावरण बनाउनुपर्छ । तर, अहिले सरकारको भूमिका हेर्दा हामी समाजवादतिर उन्मुख छौं भन्ने केही लक्षण देखिँदैन ।

० संविधान जारी भए पनि कानुनको बुझाइ, तिनका कार्यान्वयनमा समस्या आइरहेको छ । यस्तो सबैतिर हुने गर्छ कि नेपालमा मात्रै हो ?

– अल्पविकिसित र विकसित मुलुक जहाँ पनि देखिन्छ । विकसित देशमा जे कुराको परिवर्तन हुँदै छ त्यसमा जनतालाई सचेत बनाइन्छ । हाम्रोमा लोकतान्त्रिक व्यवस्था भए पनि माथिल्लो तहको निर्णय खास एउटा समूहमा केन्द्रित छ । ५ सात जना नेता बसेर सिंगो जनताको भविष्य निर्णय गर्ने स्थिति छ । त्यो बेलामा नेताहरूले के गरे भन्ने जनतालाई थाहा हुँदैन । समाजवाद भनेकै के हो रु भनेर माथिल्लो तहमा पनि स्पष्ट छैन । जसका लागि समाजवाद ल्याइदिने भनिएको हो तिनले झनै बुझेकै छैनन् । नागरिक सचेत बनाएर जहाँँ कानुन बनाइन्छ त्यहाँ धेरैजसो कार्यान्वयन तहमा स्पष्टता आउँछ । हामीकहाँ संविधान निर्माण गर्नेहरू आफैं स्पष्ट नभएको अवस्थामा केन्द्र, प्रदेश, स्थानीय तहसम्म लगेर कार्यान्वयन गर्ने कुरामा अन्योल देखिएको हो ।

० नेपाली समाजशास्त्र र मानवशास्त्र ब्रिटिस ढर्राबाट प्रभावित छ । त्यसैलाई आदर्श बनाएर हामी अघि बढिरहेका छौं भन्ने आक्षेप छ । स्विकार्नुहुन्छ ?

– सैद्धान्तिक हिसाबले सही हो । समाजशास्त्रको जन्म नै युरोपतिर भयो । अमेरिकालगायत देश हुँदै नेपालसम्म आएको हुँदा त्यहाँबाट अलग छ भन्न मिल्दैन । तर, नेपाली समाजको आफ्नै खालको व्याख्या विश्लेषण गर्ने सन्दर्भमा समाजशास्त्र निर्माण भइरहेको छ । अध्ययन, अनुसन्धानको तहमा हामी धेरै पछि लागेको हुँदा पूर्वीय पाटोमा अलि कम होला तर सबै पाश्चात्य ज्ञानकै आधारमा नेपाली समाजशास्त्र मानवशास्त्र अडिरहेको छ भन्ने होइन । जनआस्था साप्ताहिकबाट

सम्बन्धित समाचार