नि:शुल्क पाइने मुस्कान किन प्रयोग गर्दैनौ हामी ?

गोकर्ण प्रशाद जोशी/मुस्कान एउटा यस्तो चीज हो जुन अरुलाई दिएर सकिदैन। तपाँई हाम्रो व्यस्तता यति बढ्यो की हामीले के गरेका थियौ र के गर्दै छौँ भन्ने पनि झट्ट सम्झन सक्दैनौँ । कतिखेर को संग मुस्कुराएका थियौँ वा थिएनौँ पत्तै पाउदैनौँ ।

केही छैन, तपाईँ सम्झनुस वा विर्सनुस त्यो ठूलो कुरा भएन तर मुस्कुराउन नछाड्नुस । जति व्यस्त भएपनि जति हतार भएपनि मुस्कुराउन भने नछाड्नुस, मुस्कुराउने प्रयत्न जारी राख्नुस । किनभने तपाईँको मुस्कानले तपाईँको व्यक्तित्वमा निखारता त ल्याउँछ नै त्यो भन्दा महत्वपूर्ण तपाईँको स्वास्थ्यमा समेत सकारात्मक फाइदा पुरयाउछ । अझ भनौ तपाईँको एक मिठो मुस्कान धेरै रोगको औषधि बन्न सक्छ ।

मुस्कान केवल मनलाई खुशी दिने मात्रै नभई स्वास्थ्य उपचारको अचुक माध्यम समेत रहेको खोजकर्ताहरुले पत्ता लगाएका छन् । त्यति मात्रै हैन मुस्कुराउदा खेरी अनुहार देखि घाँटीसम्मको मांसपेशीको ब्यायाम हुन्छ । अनि अनुहारको सबै मांसपेशी कस्सिएर छाला चाउरी पर्न समेत दिदैन ।

एक खोजका अनुसार मुस्कुराएर गरिएको काम पुरा हुने सम्भावना ५० प्रतिशतले बढ्न जान्छ । यदी तपाईँ कोहीसंग पहिलोपटक भेट्दै हुनुहुन्छ भने मुस्कुराउने गर्नुस । यसले भेटघाटको माहोल नै रमाइलो र सुन्दर बनाउछ जसका कारण तपाईँ खुलेर कुराकानी गर्न सक्नुहुन्छ ।

अनि मुस्कान तपाईँको निजी जीवनमा मात्रै होइन व्याबसायीक जीवनमा पनि धेरै महत्वपूर्ण हुन्छ । जब तपाईँ विहान देखी नै मुस्कुराएर आफ्नो कामको सुरुवात गर्नुहुन्छ तपाईँको पुरा दिन नै खुशीसंग वित्छ ।आजभोली मैले देख्छु धेरै व्यापारीहरु सयौँको सामान हजारौँमा बेचिरहेका हुन्छन, ति असली व्यापारी होइन । असली व्यापारी ति हुन जो करोडौँको मुस्कान आफ्नो ग्राह्कको स्वागत गर्न नि:शुल्क खर्चन्छन ।

यति कुरा बुझेपछि ढिलो किन ? राम्रो स्वास्थ्यका लागि निशुल्क पाइने मुस्कान किन प्रयोग नगर्ने ?
यसै सन्दर्भमाः
चारैतर्फ खुशी भेटिन्छ लिन सक्नुपर्छ,
मन्द मुस्कान शत्रुलाई पनि दिन सक्नुपर्छ,
जिन्दगीलाई उत्सव बनाइ जिउनु छ भने,
प्यास लाग्दा अस्रु धारा पिउन सक्नुपर्छ।

सम्बन्धित समाचार