नेपाली भूमि लिपुलेक र कालापानीबारे मधेश केन्द्रित दल राजपा बल्ल बोल्यो

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले लिपुलेक र कालापानी नेपालकै भू–भाग भएकाले सरकारले फिर्ताका लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘नेपालको इतिहासमा हिजो बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति बनेको छ । अहिले मुलुकमा बलियो सरकार छ । सरकारलाई हिजोको सहमतिले ठूलो शक्ति प्रदान गरेको छ ।’ विगत ७० वर्ष लामो समयदेखि सीमा विवादको समस्या रहेको सुनाउँदै अब वार्ता तथा कूटनीतिक माध्यमबाट यसको दिर्घकालिन रुपमा हल गरिनुपर्ने यादवको सुझाव छ ।

नेपालबाट विभिन्न समयमा भारत भ्रमण भएको सुनाउँदै तीन भ्रमणमा पनि सीमा विवाद समाधान हुन नसकेको उनले टिप्पणी गरे । परराष्ट्रसचिवको नेतृत्वमा बनेको दुई कमिटीले पनि विवाद समाधान गर्न नसकेको बताउँदै अब सरकारले यसको लागि ठोस कदम चाल्नुपर्ने उनको भनाई थियो । उनले प्राविधिक टोली, राजनीतिक र कुटनीतिक तीनै च्यानलमार्फत विवाद समाधानको लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए । ‘नेपालको एक इन्च पनि भूमी हामी छोड्दैनौं’–यादवले भने,‘देशको भूमि रक्षाका लागि हामी एक ठाउँमा उभिएका छौं । यो सरकारले गम्भीरताका साथ आफ्नो कदम चाल्नुपर्छ ।’

पूर्वमन्त्रीसमेत रहेका यादवले अहिले विवाद समाधानका लागि राम्रो वातावरण बनेको पनि सुनाए । उनले भने,‘यो सरकारलाई अवसर र चूनौती दुवै छ । यत्रो सहमति र समर्थन हुँदाहुँदै पनि सरकारले केही गर्न सकेन भनेर कुरा हुन्छ । राजपाले पनि समर्थन जनाएको छ ।’ यादवले सडक संघर्ष वा आन्दोलनबाट सीमा विवादको समस्या हल नहुने जिकिर गरे । उनले भने,‘आन्दोलन वा संघर्षले राम्रो वातावरण बनाउँदैन । नेपाल र भारतबीचको सम्बन्ध राम्रो बनाउनुपर्छ । यो सरकारको काँधमा ठूलो जिम्मेवारी रहेको छ । आन्दोलनले प्रतिकुलता सिर्जना गर्छ । बरु, वार्ताबाट समाधान गर्नुपर्छ ।’

नेपालसँग नक्सा र ऐतिहासिक तथ्य तथा प्रमाणहरु रहेकोले सम्पूर्ण भू–भाग फिर्ता गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खवर